गोरखा । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले जेनियस गोरखा इङ्गलिस बोर्डिङ स्कूल, गोरखाले ७२ हजार ६५५ रुपैयाँ सहयोग गरेको छ।
यहि भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको हो।
विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालय प्रशासनको ऐच्छिक सहयोगबाट उक्त रकम संकलन गरिएको विद्यालयले जनाएको छ। संकलित रकम प्याब्सन फण्ड मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि भदौ २२ गते प्याब्सन केन्द्रमा हस्तान्तरण गरिएको प्रधानाध्यापक श्याम तामाङले बताए ।
प्रअ तामाङका अनुसार सहयोग रकममध्ये विद्यार्थीबाट १९ हजार ६३५ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट २६ हजार २० रुपैयाँ र विद्यालय प्रशासनबाट २७ हजार रुपैयाँ संकलन भएको हो। यसरी कुल ७२ हजार ६५५ रुपैयाँ राहत सहयोग गरिएको विद्यालयले जनाएको छ।
विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गरिएको यस कार्यमा स्वेच्छिक सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक–कर्मचारी तथा शुभेच्छुकप्रति विद्यालय ब्यवस्थापक समितिले आभार व्यक्त गरेको छ।
विद्यालयले विपद्को घडीमा एकता, सहकार्य र मानवीय सहयोग नै प्रभावित समुदायका लागि महत्वपूर्ण साथ हुने अध्यक्ष विनोद अर्यालले बताए ।