• मंगलबार, भाद्र २३ २०८३

रसुवा बाढीपीडितलाई लुम्बिनीका फुटवेयर उद्योगीको १० हजार ३२५ जोर जुत्ता सहयोग


मंगलबार, भाद्र २३ २०८३
170
Shares

रसुवा बाढीबाट प्रभावित नागरिकका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, लुम्बिनी प्रदेशले १० हजार ३२५ जोर जुत्ता तथा चप्पल सहयोग गरेको छ।

एसोसिएसनले बुधबार आफ्ना मातहतका नौवटा जुत्ता उद्योगबाट संकलित जुत्ता तथा चप्पल बाढी प्रभावित क्षेत्रमा पठाएको हो। राहत सामग्री काठमाडौं प्रहरीमार्फत प्रभावित क्षेत्रमा पुर्‍याई वितरण गरिने एसोसिएसनले जनाएको छ।

एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष यज्ञप्रसाद भुत्तेलका अनुसार एभरेष्ट कम्फर्ट फुटवेयर प्रालि, बुटवलले ३ हजार ७०२ जोर, आस्था फुटवेयर प्रालि, बुटवलले १ हजार ११२ जोर, फर्स्ट स्टेप इन्डस्ट्रिज, बुटवलले ७५४ जोर, मुन स्टार फुटवेयर, इमिलियाले १ हजार २४ जोर र ग्यालेक्सी नेपाल फुटवेयर इन्डस्ट्रिज, चन्द्रौटाले १ हजार २१० जोर जुत्ता तथा चप्पल उपलब्ध गराएका छन्।

त्यस्तै, सिटीवाक फुटवेयर, चन्द्रौटाले १ हजार ५६ जोर, ग्लोबल फुटवेयर इन्डस्ट्रिज, चन्द्रौटाले ६७२ जोर, युनिभर्सल सुज इन्डस्ट्रिज, भैरहवाले ५४६ जोर र शिव प्लास्टिक, बुटवलले २४९ जोर जुत्ता तथा चप्पल सहयोग गरेका छन्।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य चोलाप्रसाद पाठकले बाढी प्रभावित क्षेत्रमा जुत्ता तथा चप्पल आवश्यक पर्ने भएकाले राहतस्वरूप सामग्री पठाइएको बताए। उनले पहिलो चरणमा पठाइएको सामग्री काठमाडौं प्रहरीमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिने जानकारी दिए।

एसोसिएसनले बाढी प्रभावित नागरिकका लागि आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ। पाठकका अनुसार प्रभावितको आवश्यकता हेरेर दोस्रो चरणमा थप जुत्ता तथा चप्पल पठाउने तयारीसमेत गरिएको छ।

राहत सामग्री पठाउने कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष राजेन्द्र गुप्ता, सचिव जनक बेलबासे, कोषाध्यक्ष नेत्रप्रसाद खनाल, एभरेष्ट फुटवेयरका सकुर मिया, फरदिन खान, मुवारक हुसेन, फर्स्ट स्टेपका निर्देशक राजेश देवकोटा, आस्था फुटवेयरका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका सदस्य दीपक चापागाईं, पुरुषोत्तम घिमिरे, शिव प्लास्टिकका रूपेश पटेललगायतको सहभागिता थियो।

कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार