काठमाडौँ — कोरोना संक्रमण महिलामा बढ्दै गएको छ । बिहिबार हालसम्मकै सबैभन्दा बढी १ हजार १ सय ११ जनामा बिहीबार संक्रमण पुष्टि हुँदा नयाँ संक्रमितमा करिब ३० प्रतिशत अर्थात् ३ सय ३४ जना महिला रहेका छन् ।
महिला बढी संक्रमित हुँदै जानुले समुदायमा संक्रमण बढेको संकेत पाइएको हो । ‘अब घरभित्रै रहेका बूढापाका, दीर्घ रोगीमा समेत संक्रमण हुने जोखिम बढेको छ । करिब दुई महिनायता महिला र पुरुष संक्रमितको अनुपातमा व्यापक परिवर्तन देखिएको छ । असार पहिलो साता महिलाको दाँजोमा ११ गुणा बढी पुरुष संक्रमित थिए । असार ५ गतेसम्म ८ हजार २ सय ७४ जना संक्रमित भएकामा ९१ प्रतिशत अर्थात् ७ हजार ५ सय ६७ जना पुरुष र करिब ९ प्रतिशत अर्थात् ७ सय ७ जना महिला थिए । काठमाडौं उपत्यकामा बिहीबार देखिएका ३ सय ७७ संक्रमितमध्ये १ सय ४९ जना अर्थात् ३९.५२ प्रतिशत महिला छन् ।
मुलुकमा कोभिड संक्रमण देखिन थाल्दा सुरुमा पुरुष त्यसमा पनि युवा बढी थिए । उनीहरू बाहिरी मुलुकबाट आएका थिए । ‘तर संक्रमण स्थानीय तहमा हुन थाल्दा महिला र पुरुषको एक्स्पोजर बराबर हुन थाल्यो, महिलाको संक्रमण दर बढ्न थाल्यो, कुनै बेला पुरुष बढी जोखिममा थिए, अब महिला र पुरुष दुवै समान रूपमा जोखिममा छन्,’ । हालसम्म मुलुकमा संक्रमितमध्ये २०.७६ प्रतिशत महिला छन् । बिहीबारसम्म ७ हजार ३ सय ७९ महिला र २८ हजार १ सय ५० पुरुष गरी ३५ हजार ५ सय २९ जनालाई संक्रमण भइसकेको छ । अहिलेसम्म कोभिडले मृत्यु भएका १ सय ८३ जनामा २३ प्रतिशत अर्थात् ४६ जना महिला र ७७ प्रतिशत अर्थात् १ सय ३७ जना पुरुष छन्