बंगलादेशले कोरोनाविरुद्ध अहिलेसम्म सबैभन्दा प्रभावकारी मानिएको औषधि रेम्डिसिभिरको ५ हजार डोज नेपाललाई उपलब्ध गराएको छ।
बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासमा बिहीबार एक कार्यक्रमबीच सो औषधि हस्तान्तरण गरिएको हो।
बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले सो औषधि सोमबारसम्म नेपाल आइपुग्ने बताए।
औषधि अभावको कारण नेपालमा औषधि कालोबजारी हुँदै आएको छ। यस क्षेत्रमा भारत र बंगलादेशले यो औषधि उत्पादन गर्ने गरेका छन्।
राजदूत मिश्रले सो औषधिलाई स्थलमार्ग हुँदै पठाउने तयारी भइरहेको बताए।
कोरोना संक्रमितलाई रेम्डिसिभिरले सोझै निको पार्ने नभै संक्रमणको अवधि छोट्याउने र बिरामीको अवस्थालाई सहज बनाउन सहयोग गर्छ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले यसमाथि लामो अनुसन्धान गर्दा यो औषधिको प्रयोगबाट कोरोना संक्रमितको अवस्थामा सुधार गर्न सहयोग पुगेको पाइएपछि यसको प्रयोग गर्न सुरु गरिएको हो।
गम्भीर अवस्थामा रहेका संक्रमितलाई चिकित्सकहरुले उनीहरुको अवस्था हेरी ६ देखि ११ डोजसम्म प्रयोग गर्छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले रेम्डिसिभिर औषधिको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ। त्यसैअनुसार औषधि व्यवस्था विभागले अनुसन्धान प्रयोजनका लागि सो औषधि ल्याउनका लागि तीन कम्पनीले अनुमति पाएका छन्।