काठमान्डौ — मेसी र बार्सिलोनाको भिडन्त कानुनी युद्धमा परिवर्तन हुने भएको छ । ६ पटकका बालोन डे’अर विजेता लियोनल मेसीले बार्सालाइ फ्याक्समार्फत क्लब छोड्न लागेको जानकारी गराए सँगै यि दुइबिच कानुनी लडाइँ हुने भएको हो।
मेसीले बार्सिलोनाका लागि चारपल्ट च्याम्पियन्स लिग जितिसकेका छन । उनी क्लब इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । यी अर्जेन्टिनी खेलाडी चाहन्छन्, अनुबन्ध तत्काल खारेज होस् । अनुबन्धको एक बुँदामा भनिएको छ, खेलाडीले चाहेमा क्लब छोड्न सक्छन् । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएपछि खेलाडी र क्लबबीचको सम्बन्ध अझ कमजोर हुन थालेको थियो । त्यसयता प्रशिक्षक क्विक सेटिन बर्खास्तगीमा परे भने रोनाल्ड कोम्यान उनको स्थानमा आइसकेका छन ।
कोम्यानले नै अबदेखि बार्सिलोनामा मेसीको स्थान विशेष नहुने बताएपछि स्थिति प्रतिकूल हुन सुरु भएको हो । बार्सिलोनाले सन् २००७ यता कुनै पनि उपाधि जित्न नसकेको सिजन यसपालि हो ।
मेसी र बार्सिलोनाबीचको अनुबन्धमा उनलाई कुनै क्लबले किन्न चाहेमा कम्तीमा ७० करोड युरो तिर्नुपर्ने उल्लेख छ । क्लब मान्छ भने अब लागू हुने भनेको यही हो । मार्काले अगाडि लेखेको छ, ‘अब बार्सिलोनामा मेसीको भविष्य के हुनेछ भन्ने सबै सम्भावना यही कानुनी अप्ठ्यारोमा अडिएको छ ।’