प्लाज्मा थेरापीबाट उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत् रुपन्देहीको तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले थाइरोडिजम र उच्च रक्तचापको समेत बिरामी रहेकी उनको मृत्यु भएको जानकारी दिए।
साउन २६ गते संक्रमण पुष्टि भएकी उनलाई होम आइसोलेसनमा बसिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो।
डाक्टर थापाका अनुसार ती महिलालाई नै बुटवलमा प्लाज्मा थेरापीबाट पहिलो पटक उपचार सुरू गरिएको थियो। उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।