राजेन्द्र कोइराला
काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका करिब ५० जिल्लामा अहिले निषेधाज्ञा जारी छ । केहि समययता समुदायस्तरमा समेत कोरोना संक्रमण देखिन थालेपछि सरकारले काठमाण्डौमा निषेधाज्ञाको पालनामा कडाइ गरेको छ ।
एक सातायता काठमाडौं उपत्यका पूरै सुनसान छ भने अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन्।
अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालन भएका छैनन्।
‘निषेधाज्ञा’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ। सडकमा सुरक्षाकर्मी र फाट्टफुट्टबाहेक कोहि हिँडेका छैनन्। सबै पसलहरु बन्द छन्।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च देखिएकोले फेरी निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
संक्रमणको जोखिम उच्च रहेको काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा समेत थप कडाई गरेको छ ।
हेर्नुस ६ तस्विर ।
तस्विर : राजेन्द्र काेइराला / सिभिलखबर





