काठमाडौं । संक्रमणको जोखिम उच्च रहेको काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार निषेधाज्ञाको समय एकसाता थप गरी भदौ १७ गते सम्मका लागि निरनतरता दिने निर्णय गरेका छन् । यससँगै उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रहरीले चेकजाँचलाई थप कडाई गरेको छ ।
बुधबार दिउँसो उपत्यकाका मुख्य नाकाहरु नागढुङ्गा र साँगा भन्ज्याङ नाकामा पुग्दा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाइएको छ ।नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ ।
त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको देखिन्छ ।