यही शैक्षिक सत्रदेखि लागू हुने गरी अनमी/सिएमए/ल्याब असिस्टेन्टलगायत कार्यक्रममा विद्यार्थी भर्ना नगराउने सरकारले निर्णय गरेको छ।
एसएलसी(एसइई)सरहका यी स्वास्थ्यसम्बन्धी कार्यक्रम पढेका विद्यार्थीले जागिर नै नपाउने अवस्था भएपछि पठनपाठन बन्द गरिएको हो।
चिकित्सा शिक्षा आयोगको साउन ३० मा बसेको बैठकले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए।
ऐनको दफा १५ (४) बमोजिम परिषदले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसै शैक्षिक सत्रबाट सञ्चालन नगर्ने निर्णय गरेको उनले बताए। आयोगको यो निर्णयसँगै देशका एक सय ३८ भन्दा बढी संस्थाका अनमी/सिएमए/ल्याब असिस्टेन्टलगायत पढाउन मिल्ने सम्बन्धन खारेज भएको छ।