गोरखा । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले केही दिन अघि गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ को स्वास्थ्थ्य चौकीको एउटा तस्बिर फेसबुकमा सार्वजनिक गरे। उक्त तस्बिरमा स्वास्थ्य चौैकी जाने बाटो नै भत्किएको देखिएको थियो।
सामाजिक सज्जालमा निकै सक्रिय पूर्व सचिव उपाध्यायले उक्त फोटो सार्वजनिक गरेपछि बारपाक सुलिकोटमा हल्लिखल्ली नै मच्चिएको थियो। कसैको चासोमा नपरेको उक्त स्वास्थ्य चौकी जाने बाटो मर्मतका लागि गण्डकी प्रदेश सभाका सदस्य तथा सोही क्षेत्रका प्रतिनिधि प्रकाशचन्द्र दवाडीले मर्मतका लागि सहयोग गरेका छन्।

दवाडीको पहल र सहयोगमा बुधबार बिहानैबाट उक्त बाटो मर्मत भइरहेको छ।
‘बिगत केही दिन देखि सामाजिक संजालमा भाइरल बनिरहेको मेरो निर्वाचन क्षेत्र गोरखा २ ख को बारपाक सुलिकोट गाउॅंपालिकाको केन्द्र नजिकै रहेको ताकुकोट स्वास्थ्य चौंकी जाने मोटरबाटोको अवस्थाले मेरो गम्भीर ध्यानाकर्षण गरायो,’ प्रदेश सभा सदस्य दवाडीले भने, ‘स्वास्थ्य संस्था जाने सडकको यस्तो अबस्था बारे आजसम्म मलाई औपचारीक जानाकारी थिएन। हिजो सामाजिक संजालबाट जानाकारी पाए पछि मैले आज तुरून्तै उक्त सडकलाई स्वास्थ्य चौकीसम्म अत्यावश्यक एम्वुलेन्स लगायतका यातायात पुग्न सक्ने गरि मर्मत गरेको छु।’
उनले उक्त काम आफूले कुनै भाइरल हुन नगरेको पनि बताएका छन्।
‘यो कुनै भाइरल हुनको लागी नभै आफ्नो कर्तव्य ठानेर गरेको हुनाले यसलाई त्यसरी नै बुझिदिनुहुन अनुरोध छ,’ उनले भनेका छन्।
सांसद दवाडी यस्तै सामाजिक काममा लामो समयदेखि सक्रिय छन्। ‘कतैबाट पनि ध्यान नभए मलाई खबर गर्नुस मैले सकेको सहयोग म गरिहाल्छु,’ गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका प्रवक्तासमेत रहेका दवाडीले भने, ‘अहिले पनि मैले कसैको सहयोगमा गरेको काम गरेको हैन राज्यबाटै ठगिएको ठाउँमा मैले सहयोग गरेको हुँ।’