कोरोनाको कहर बढे पछि सरकारले प्रत्येक प्रदेशका २ जिल्ला अस्पताललाई ४ भेन्टिलेटर र १० आइसियू बनाउन बजेट निकासा गरेको छ।
स्वास्थ्य मन्त्रलायका प्रमुख विशेषज्ञ रोशन पोखरेलले हरेक प्रदेशलाई २ करोडका दरले बजेट पठाइएको जानकारी दिए।
सरकारले सामानसँगै स्वास्थ्यकर्मीसमेत भर्ना सुरू गरेको छ। पोखरेलका अनुसार एमडी र एमएस पासआउट भएका २३ जना स्वास्थ्यकर्मीलाई सरकारले प्रदेश २ मा पठाएको छ।
देशभर १ हजार ७५ टिम ट्रेसिङमा खटिएको उनले बताए।
उनले काठमाडौं उपत्यकाका अस्पतालमा ६ हजार आइसोलेसन बेड बनाउने तयारी सरकारले गरिरहेको बताए। साथै विभिन्न संघ र संस्थामा ३५ सय बेड तयार पारिरहेको उनले जानकारी दिए। त्यस्ता संघ, संस्थामा आइसोलेसनमा बस्नेलाई कुनै समस्या भए अस्पताल लैजाने उनले बताए।