• आइतबार, साउन १० २०८३

काेराेना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय


सोमबार, भाद्र ८ २०७७
695
Shares

काठमाण्डाै । टाेखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ।

नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब संकलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि साे बराबर भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरीका आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराइने नगर प्रवक्ता बस्यालले बताए।

यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक र स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार