लमजुङ — लमजुङ प्रहरीले आइतबार दिउँसो अवैध रुपमा जंगली जटिबुटी लुकाइराखेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ ।
डीएसपी गंगाबहादुर थापाका अनुसार बेंसीसहर नगरपालिका–७, क्याम्पस रोड बस्ने ३८ वर्षीया सिद्धिमाया तामाङलाई अवैध रुपमा जंगली जडिबुटी लुकाइराखेको सूचनाको आधारमा जडिबुटीसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय पठाएको प्रहरीले बताएको छ ।
प्रहरीले तामाङको घरबाट डालिङ (गुरुङ भाषामा टलिट) ४ सय ७६ दशमलव १ किलोग्राम, वनलसुन १ सय ५४ किलो, कुड्की २४ दशमलव ६ किलो, जटामसी १४ दशमलव ९ किलो, सुगन्धवाल १८ दशमलव ३ किलो, सतुवा ४ दशमलव ४ किलो र वनआलु २ दशमलव ८ किलो बरामद गरेको जनाएको छ ।
इन्सपेक्टर ओमप्रकाश पुनले कूल ६ सय ९५ दशमलव १ किलो अवैध जडिबुटी बरामद गरिएको बताए । सबै जडिबुटीको अन्दाजी बजारमूल्य २२ लाख ९१ हजार ३ रुपैयाँ रहेको पुनले बताए ।डिभिजन वन अधिकृत मोहनराज काफ्लेले अवैध जडिबुटीसहित पक्राउ परेको भन्दै प्रहरीले एक महिला र जडिबुटी बुझाएको बताए । केही जडिबुटीको पहिचान हुन बाँकी छ ।