• आइतबार, साउन १० २०८३

गोरखामा झण्डै ४ हजार जनाको कोरोना परिक्षण गरियो


शनिबार, भाद्र ६ २०७७
860
Shares

गोरखा । गोरखामा हालसम्म झण्डै ४ हजार जनाको कोरोना परिक्षण गरिएको छ । भारत लगायत बिभिन्न देशबाट आएका नागरिक, कन्ट्याक्ट ट्रेसिङ गरिएका, शंकास्पद लगायत नेपाल प्रहरी, सेना, शसस्त्र प्रहरी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी गरी जिल्लाभरमा हालसम्म ३ हजार ७ सय ७७ जनाको स्वाव संकलन भइसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले बताए ।

जसमा हालसम्म ३ हजार ६ सय ११ जनाको मात्रै रिपोर्ट प्राप्त भएको बताइएको छ । स्वाव संकलन भई परिक्षणका लागि काठमाण्डाैकाे राष्ट्रिय प्रयाेग शाला टेकु, पाेखरा लगायतका स्थानमा पठाइएकामध्ये १ सय ६६ जनाको रिपोर्ट अझै आएको छैन ।

रिपोर्ट आएकामध्ये गोरखामा हालसम्म बिभिन्न पालिकाका गरी १ सय २० जनाको कोरोना भाइरसको लक्षण पोजेटिभ आएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जसमा पालुंटार नगरपालिकाका एक जनाको भने संक्रमण कै कारण गत असारमा निधन भएको थियो । त्यस्तै संक्रमण देखिएकामध्ये १ सय १८ जना निको भइ घर फर्किएका छन । हाल गोरखामा एक जना मात्रै सकृय संक्रमित रहेका छन । जसलाई गोरखा क्याम्पसको आइसोलेसनमा राखिएको जिल्ला अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

गोरखामा पहिलो पटक गत जेठ २४ गते गण्डकी गाउँपालिकाका ९ र पालुंटारका एक गरी एकै पटक १० जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै गोरखामा स्वाव संकलन भएकामध्ये ३ हजार ४ सय ९१ जनााको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

निषेधाज्ञा थप नहुने संकेत

केहि हप्ताअघि गोरखाको लक्ष्मीबजार र हरमटारी क्षेत्रमा समुदायस्तरमै संक्रमण देखिएपछि भने गत भदौ १ देखि एक साताका लागि जिल्लाभर निशेधाज्ञा जारी गरिएको थियो ।

सो निषेधाज्ञा भोली आइतबार सकिदैछ । त्यसो त भोली सकिने निषेधाज्ञा गोरखा जिल्लाको हकमा थप नहुने संकेत छ ।

समुदायमा संक्रमण देखिएलगत्तै गरिएको कन्ट्याक्ट ट्रेसिङको सबै रिपोर्ट नेगेटिभ आएकाले अब थप निषेधाज्ञाको जरुरी नरहेको कतिपयको तर्क छ ।

त्यसो त कतिपय जिल्लाका सरकारी उच्च अधिकारी तथा स्थानीय तहहरुका जनप्रतिनिधीहरु समेत जिल्ला भित्रने नाकामा कडाई गरेर जिल्लाभित्रको अन्य गतिविधी सञ्चालन गर्ने आन्तरिक तयारी भइरहेको बताउछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार