• आइतबार, साउन १० २०८३

कोरोना नियन्त्रणमा सरकारको १३ अर्ब खर्च, पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड !


शुक्रबार, भाद्र ५ २०७७
1.3K
Shares

एक संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा हालसम्म १३ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेको श्रावण मसान्तसम्ममा उक्त रकम खर्च भएको हो ।

उक्त खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड रुपैयाँखर्च भएको खतिवडाले जानकारी दिए ।

शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड भन्दा बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा सो रकम खर्च भएको जानकारी दिए ।

नेपालमा हालसम्म ३० हजार ४ सय ८३ जनामा पोजेटिभ केस पाइएकोमा यस हिसावले एक जना संक्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको गौतमले जानकारी दिए । संक्रमण पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न गौतमले अनुरोध गरे ।

एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार बहुत खर्चिलो भएको बताउदै जरुरी काम नपरी घरबाट ननिस्कन प्रबक्ता गौतमले अनुरोध गरे ।

शुक्रबारसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ भने निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको गौतमले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार