जिल्ला समन्वय समिति गोरखाले दिएको बजेट गोरखाका स्थानीय तहले उपभोग गर्न सकेका छैनन् ।
गत वर्ष जिल्ला समन्वय समितिले जिससको मौज्दात कोषमा रहेको १८ करोड ८४ लाख रकममध्ये दुईवटा नगरपालिकालाई एक करोड ४० लाख, चुमनुब्री गाउँपालिकालाई एक करोड २० लाख र अन्य गाउँपालिकालाई एक करोड १० लाख दिने निर्णय गरेको थियो ।
तर अहिलेसम्म पालुङटार नगरपालिकाले ९८ लाख बाहेक अन्य गाउँपालिकाले रकम नलगेको निमित्त जिल्ला समन्वय अधिकारी दिनेश चापागाईंले बताए ।
गत वर्ष जिल्ला समन्वय समितिले सबै स्थानीय तहलाई योजना पेस गर्न अनुरोध गरेको थियो । भिमसेन थापा गाउँपालिकाले वडा नं १, २, ६ र ८ कार्यालय भवन निर्माण गर्ने योजना पेस गरेको छ ।
यसैगरि बारपाक सुलिकोट गाउँपालिकाको भवन निर्माण गर्ने योजना अघि सारेको छ । गण्डकी गाउँपालिकाले वडा नं ६ को भवन र खानेपानी आयोजना निर्माण गर्ने निर्णय गरे पनि बजेट लगेको छैन । ‘यी स्थानीय तहले योजना पेस गरे पनि इस्टिमेट गरेर बजेट निकासको माग गरेका छैनन्,’ उनले भने ।
पालुङटार नगरपालिकाले कार्यालय भवन निर्माण गर्ने योजना पेस गरेको थियो । गोरखा नगरपालिकाले वडा नम्बर १२ को कार्यालय भवन पेस गर्ने योजना ल्याए पनि बजेट भने लगेको छैन ।
८० लाखमा वडा भवन निर्माण गर्ने योजना पेश भएको र बाँकी रकमको योजना पेस हुन बाँकी रहेको उनले बताए । सहिदलखन गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण गर्ने योजना पेस गरेको छ तर बजेट निकासा भएको छैन । भवन निर्माण अघि बढेको छैन ।
अजिरकोट, सिरानचोक, धार्चे, आरुघाट र चमुनुब्री गाउँपालिकाले भने जिल्ला समन्वय मितिको मौज्दात कोषमा रहेको रकम के मा खर्च गर्ने भन्ने यकिन गर्न सकेका छैनन् । यी स्थानीय तहले योजना नै पेस नगरेको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए ।