सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।
एक बालक र दुई महिलाको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो ।
यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् भने ११ जना अझै बेपत्ता छन् ।