गण्डकी प्रदेशमा मंगलबार थप एक जनाकाे काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
पोखराको हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको हाे । ५० वर्षीया ती महिलाको सोमबार राति मृत्यु भएको बताइएकाे छ ।
मृत्युपछि मंगलबार बिहान उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको छ । मृतक महिलाको घर तनहुँको व्यास नगरपालिका १ हो । उनको स्वाब भने पहिल्यै संकलन गरिएको थियो ।
साउन ३२ गते उपचारका लागि छोरीसहित पोखरा आएकी ती महिलाको गए राति मृत्यु भएको हो । स्रोतका अनुसार उनकी २५ वर्षकी छोरीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
उनको शव नेपाली सेनाले पोखरा ३२ मजुवा नजिकै घाटमा व्यवस्थापन गर्ने तयारी भइरहेकाे बताइएकाे छ ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १/१ जना थिए ।