• सोमबार, साउन ११ २०८३

आजदेखि गोरखामा एक साता ‘सटडाउन’, जनजिवन प्रभावित


सोमबार, भाद्र १ २०७७
890
Shares

गोरखा । आजदेखि गोरखामा एक साताका लागि सटडाउन सुरु भएको छ । जिल्लाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा आजबाट सात दिनका लागि बन्द गरिएको हो ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित कमाण्ड पोष्ट र क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले भाद्र १ गते देखि ८ गतेसम्म सटडाउन गर्ने निर्णय गरेको हो ।

‘समुदायमा फाट्फुट्ट रुपमा केही केस देखापरेका छन्, राजधानी र कतिपय छिमेकी जिल्लामा पनि संक्रमणको दर उच्च देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने,‘अहिलेको अबस्थालाई नियन्त्रणमा लिन र संभावित जोखिम कम गर्न यो निर्णय गरिएको हो ।’

जसअनुसार आजबाट खाद्यन्न, औषधी र पेट्रोलियम पदार्थ बाहेकका सबै सेवा ठप्प गरिएको उनले बताए । बैठकले सार्वजनिक यातायात, निजी सवारी साधन (अत्यावश्यक प्रयोजनमा प्रयोग भएको बाहेक) संचालनमा पूर्ण रुपमा बन्द गर्ने गर्ने निर्णय गरेको छ ।

जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र गोरखाले भाद्र २९ गते प्रशासन, मालपोत लगायत भिडभाड हुने कार्यालयबाट प्रवाह हुदै आएको अत्यावश्यक सेवा वाहेकका सबै सेवालाई पूर्ण बन्द गर्ने निर्णय गरेको थियो ।

बैठकले उक्त निर्णयलाई अनुमोद गरी जिल्ला भर लागु गर्ने निर्णय गरेको छ । सोही अनुसार जिल्लाका सबै स्थानीय तहले समेत आफ्नो कार्यालयको अत्यावश्यक सेवा वाहेकका सेवाहरु बन्द गर्ने, जिल्ला सदरमुकाम तथा विभिन्न स्थानमा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवाको हकमा संक्रमणको जोखिमलाई मध्येनजर गरी बाह्य सेवा बन्द गर्ने निर्णय भएको छ ।

जिल्लाको सुरक्षालाई कडा बनाइएको छ । जोखिम तथा प्रभावित क्षेत्रहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको परिचालन हुनेछन् । यदी कोही सुरक्षाकर्मीमा संक्रमण देखिएमा उनीहरुलाई गोरखा नगरपालिका ९ मा रहेको नवनिर्मित भु संरक्षणको भवनमा राख्ने समेत निर्णय गरिएको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि जथाभावी हुने आवातजावतलाई नियन्त्रण गर्न जिल्ला प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्थालाई थप कडाई गरिने प्रशासनले बताएको छ ।

‘हामीले सार्वजानिक रुपमा सबैलाई आग्रह गरेका छौं । यो कडाई हामी सबै जिल्लाबासी कै लागि हो भनेर बुझिदिनु होला,’ प्रजिअ भट्टराईले भने, ‘यदी कथमकदाचित कोही कसैले हाम्रो निर्देशलाई मान्दैन,अटेरी गर्छ भने संक्रामक ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ लगायत राज्यका विभिन्न प्रचलित कानून अनुसार कडा कारवाही हुने म स्पष्ट पार्न चाहन्छु ।’

पास बाहेकका सवारी साधनलाई बेलुका ९ बजेदेखि विहान ६ बजेसम्म जिल्ला प्रवेश गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय पनि गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार