चितवन । चितवनका निजी अस्पतालले कोरोना संक्रमितलाई आफ्नै अस्पतालमा राखेर उपचार गर्न थालेका छन् ।
भरतपुरस्थित पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमण पुष्टि भएका रत्ननगर ९ का ६१ बर्षिय संक्रमित पुरुषलाई राखेर उपचार गरेको जनाएको छ ।
साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना उनलाई कोरोना संक्रमण भएको शुक्रवार पुष्टि भएको थियो ।
संक्रमित पुरुष अस्पतालको आईसीयूमा छन् । उनको अवस्था स्थिर, तर गम्भिर रहेको चिकित्सकले जनाएका छन् । फोक्सोमा ‘भाइरल निमोनिया’ देखिएकोे उपचारमा संलग्न चिकित्सक सन्दिप पाण्डेले बताए ।
यसअघि चितवनका निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितलाई भरतपुर अस्पतालमा पठाउँदै आएका थिए ।
स्वास्थ्य मन्त्रालयले साउन ३० गते एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका बिरामीलाई सम्बन्धित अस्पतालमा नै राखेर उपचार गर्न र हव अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशन अनुसार संक्रमितलाई हव अस्पताल भरतपुरसँग समन्वय गरेर राखिएको अस्पतालका म्यानेजर सुजन अधिकारीले जानकारी दिए ।