आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज विभागले एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपालनजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औंल्याएको छ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रही केही स्थानसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ।