गोरखा । पछिल्लो समय गोरखामा कोरोना भाइरस संक्रमितको दर घटेपनि समुदायमा संक्रमण देखिन थालेपछि जोखिम उच्च रहेको जिल्ला प्रशासन कार्यालयको ठहर छ । सो संगै जिल्लाभित्रको स्वास्थ्य सुरक्षा ब्यवस्थाका साथै अन्तरजिल्ला आवतजावत समेत कडाई गरिएको छ ।
त्यस्तै आजबाट जिल्लाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेका सेवा बन्द गर्ने निर्णय भएको छ । बिहीबार जिल्ला प्रशासनमा बसेको कोरोना भाइरस (कोभिड १९ को) रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित कमाण्ड पोष्ट तथा क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले जिल्ला प्रशासन, मालपोत लगायत सेवाग्राहीको भिडभाड हुने कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइको अध्यक्षतामा बसेको बैठकले हालसम्मको अबस्थाको समिक्षा गर्दै थप कडाईका साथ प्रस्तुत हुने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
बैठकले स्वास्थ्य र सुरक्षाको ख्याल नगरी मापदण्ड विपरित यात्रु बोक्ने सवारी साधनलाई कारवाही गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले साउन २८ गते गरेको परिपत्र अनुसार सवारी पास पुर्ण रुपले बन्द गराइएको छ । जिल्लाका सबै धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेकका सम्पूर्ण गतिबिधिमा पूर्ण रुपले रोक लगायएको छ ।
बैठकले चाडपर्वहरु नजिकिएकाले घरमैमा बसेर आफ्ना परिवारका सदस्यहरुसँग मात्र मनाउन अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका फुटपाथ÷खुल्ला ठाउँ र ठेला गाडा/साइकलमा सञ्चालन भइरहेका व्यवसाय बन्द गराउने निर्णय भएको छ ।
उद्योगी व्यापारीहरु समेत सहभागी बैठकमा सरकारले अनुमती प्रदान नगरेका ब्युटिपार्लर, सैलुङ, जीमखाना लगायतका मानिसको बढि भिडभाड हुने व्यवसाय पूर्ण रुपले बन्द गराउने सहमती गरिएको छ ।
सरकारले लकडाउनको घोषणा गर्नुपूर्व बन्द गराएका शिक्षण सस्था, गोष्ठी, सभा सेमिनार, सिनेमा हल लगायतका भिडभाड हुने कुनै पनि कुरामा सहभागी नहुन सर्वसाधरणलाई आग्रह गरिएको छ । अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन र निस्कनै पर्ने भए स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर भिडभाड नगरी हिड्न अनुरोध बैठकले गरेको छ ।