मेलिना बराम
गोरखा । पछिल्लो समय गोरखामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएको पाइएको छ ।
केहिदिन अघि ब्युटि पार्लर ब्यवसाय सञ्चालन गर्दै आएकी एक महिलालाई कोरोना देखिएको गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा त्यसपछि मात्रै समुदायस्तरका पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ ।
मंगलबार एक पुरुषमा कोरोना देखिएको सो क्षेत्रमा आज बुधबार समेत अर्का एकमा पनि संक्रमण पुष्टि भएको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । आज २२ बर्षका एक पुरुषमा संक्रमण देखिएको हो ।
ब्युटि पार्लर ब्यवसायी ति महिलामा संक्रमण देखिएपछि उनको सम्पर्कमा पुगेका ९८ जनाको कन्ट्याक्ट ट्रसिङका क्रममा थप ५ जना संक्रमित थपिएका हुन ।
त्यस्तै आज बुधबार संक्रमण देखिएका २२ बर्षिय पुरुषको सम्पर्कमा रहेका थप ३७ जनाको कन्ट्याक्ट ट्रसिङ गरिएको छ ।
उनिहरुको स्वाव संकलन भइसकेको र परिक्षणका लागि टेकु पठाइएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए ।
गोरखा नगरपालिकामा मात्रै पुगे १६ जना संक्रमित
गोरखा नगरपालिकामा हालसम्म १६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा १४ जना निको भएर घर फर्किएका छन भने सकृय संक्रमित २ जनालाई गोरखा क्याम्पसको आइसोलेसनमा राखिएको अर्यालले बताए ।
क्वारेनटाइनमा १७ जना
त्यस्तै गोरखा नगरपालिकाले वडा नम्बर १० स्थित मनकामना बहिरा आवासिय माध्यामिक विद्यालयमा सञ्चालन गरेको मास क्वारेनटाइनमा हाल १७ जना रहेको त्याहा कार्यरत स्वास्थ्यकर्मी ज्योती श्रेष्ठले बताइन ।