काठमाडौँ — तीन दिनदेखि काठमाण्डाैबाट हराएका कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ ।
बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।