गोरखा । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि जिल्लामा कडाई सुरु भएको छ । केही दिन यता सिमानाकामा पुनः चेकजाँच सुरु गरेको प्रशासनले मंगलबार एक सूचना जारी अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन सर्बसाधरणलाई आग्रह गरेको हो ।
जिल्ला भित्र दिनानुदिन कोरोना संक्रमण बढ्दै जान थालेपछि स्वास्थ्य सुरक्षा र सचेतता अपनाउन सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
यदी अत्यावश्यक काममा घरबाहिर निस्कन पर्दा अनिवार्य रुपमा मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न, एक अर्का वीचमा भौतिक दुरी कायम सूचना मार्फत पुनः सचेत गराइएको छ । ‘२५ जना भन्दा बढी जम्मा नहुन, एकै ठाउँमा जम्मा भई बैठक मिटिङ तथा सम्मेलनहरु नगर्न, खेल मैदानमा जम्मा भई खेल खेल्ने, सोही कारणबाट लडाइँ झगडा जस्ता हर्कत देखिएकाले यस्ता क्रियाकलाप हाललाई नगर्ने, नगराउने’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्धारा जारी सूचनामा भनिएको छ ।
जिल्ला प्रवेश गर्नु अगाडी आफ्ना सम्पूर्ण विवरण सुरक्षा चेक पोष्ट र हेल्प डेक्समा टिपाई सहयोग गर्न पनि आग्रह गरिएको छ । साथै कोभिड १९ सम्बन्धी केही सूचना भए उक्त टोलीलाई उपलब्ध गराउन पनि सर्बसाधरणलाई अनुरोध गरिएको छ ।
छोटो दुरीका सवारी साधनहरुलाई तोकिए भन्दा बढी यात्रु नबोक्न निर्देशन दिदै प्रशासनले अनिवार्य रुपमा स्वास्थ्य र सुरक्षाको मापदण्ड पालन गर्न भनेको छ । खाद्यन्न, औषधी तथा स्वास्थ्य सामाग्री, एम्बुलेन्स, शवबाहन, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक सामाग्री ढुवानीका लागि भने कुनै अबरोध नरहेको स्पष्ट पारिएको छ ।
सैलुङ, व्युटिपार्लर, जिमखाना जस्ता धेरै मानिसको प्रत्यक्ष भेटघाट हुने व्यवसाय सञ्चालन नगर्न पनि प्रशासनले आग्रह गरेको छ । अत्यावश्यक सामाग्री बिक्रि गर्ने व्यवसायीलाई अनिवार्य रुपमा सुरक्षाको मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ ।
यदी यी सर्तहरु पालना नगरेमा संक्रामक ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र अन्य प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । देशभर संक्रमण बढिरहेका र जिल्लाको पनि समुदाय स्तरमै कोरोना देखिएपनि प्रशासनले आवश्यक कडाई गर्न नसकेको भनि आलोचना भइरहेको छ ।
बजार क्षेत्रमा अनावश्यक भिडभाड बढ्दो छ । अनुमती बेगर नै मठमन्दिरमा पुजाआजा सञ्चालन भइरहेको छ । सार्वजानिक यातायातमा सरकारले बनाएको मापदण्ड पुरा नभएका कारणले कोरोनाको जोखिम बढाएको छ । नाकामा कडाई गरिएपनि बाहिरबाट निर्वाद रुपमा सर्वसाधरण जिल्ला भित्रिरहेको अबस्था छ ।
प्रशासनले यस अघि पनि पटक–पटक यदी प्रकृतिको सूचना जारी गरी पनि सर्वसारणले अटेर गर्दै आइरहेका छन् । कारवाही पक्ष फितलो हुँदा यो निर्णय पनि कार्यान्व्यनमा आउनेमा धेरैको आशंका छ ।