अब्जल मियाँ
गोरखा । अविरल बर्षातका कारण आएको बाढी पहिरोले क्षती पु¥याएकाहरुलाई गोरखा नगरपालिकाले राहत दिने भएको छ । मंगलबार नगरस्तरीय विपद ब्यवस्थापन समितिको बैठकले नगरक्षेत्रमा बाढी पहिरोका कारण क्षती पुगेकाहरुलाई राहत दिने निर्णय गरेको हो ।
जसमा १० हजारदेखि २० हजार रुपैयासम्मको क्षती भएकालाई ३ हजार, २० हजारदेखि ५० हजारसम्म क्षती भएकालाई ४ हजार र ५० हजारभन्दा माथी क्षती भएकालाई नगद ५ हजार राहत रकम उपलब्ध गराउने बैठकले निर्णय गरेको समितिका संयोजक एवं नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।
त्यस्तै बैठकले घर लगायत बसिरहेको संरचनामा क्षती पुगि विस्तापित भएकाहरुलाई भने १० हजार दिने निर्णय भएको उनले बताए । बैठकले सो राहत दिन क्षती मुल्यांकन तथा अनुगमनका लागि उपप्रमुख विना कुमारी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यिय समिति समेत गठन गरेको छ ।
बाढी पहिरोका कारण क्षती पुगेका संरचनाको स्थलगत निरिक्षण गरी समितिले क्षतीको मुल्यांकन गर्ने र राहतका लागि कार्यालयलाई सिफारिस गर्ने बताइएको छ ।
समितिमा वडा नम्बर ३ का वडाध्यक्ष रामबाबु बोगटी, इन्जिनियर प्रकाश ढकाल, कृषि शाखाका प्रमुख नविन अधिकारी सदस्य रहेका छन् भने सदस्य सचिवमा वन, वातावरण तथा विपद ब्यवस्थापन शाखाका ध्रुव प्रसाद घिमिरे रहेको नगरपालिकाले जनाएको छ ।
‘हामी बनाएको अनुगमन समितिले क्षती पुगेको ठाउँको निरिक्षण गरेर क्षतीको मुल्यांकन गर्नुहुन्छ’ नगरप्रमुख पन्तले भने ‘त्यसपछि समितिको सिफारिसमा हामी कसलाई कति राहत दिने निचोडमा पुग्छौ ।’
कार्यालयलाई प्राप्त तथ्यांक अनुसार गोरखा नगरक्षेत्रमा हालसम्म ९५ घरमा सामान्य, ३ सय ८४ घरमा मध्यम क्षती, २ सय ४० घर जोखिममा, २ सय ५४ घर उच्च जोखिममा र १९ घर पूर्ण रुपमा क्षती भई सो परिवार विस्थापित भएको बताइएको छ ।
नगरपालिकाका वातावरण विज्ञ ध्रुव घिमिरेका अनुसार बाढी पहिरोले सबैभन्दा बढी वडा नम्बर ९ र १२ मा क्षती पु¥याएको छ । त्यस्तै पहिरोका कारण १४ वटा बाख्रा समेत पुरिएर मरेको उनले बताए । घिमिरेका अनुसार बाढी पहिरोकै कारण नगरक्षेत्रमा करिब ६८ दशमलव १ हेक्टर जमिनमा लगाइएको बालीनालीमा समेत नोक्सान पुगेको छ ।
त्यसो त पहिरोले निजी आवासमा मात्रै होइन शैक्षिक संरचनाहरुमा समेत क्षती पु¥याएको छ । जसमा वडा नम्बर ३ को बज्र भैरव प्रावि, ६ को बालमन्दिर मावि, विन्दवासिनी मावि, ११ को भराजवृक्ष प्रावि, शान्ती प्रावि, र १३ को रामशाह प्राविमा अन्य विद्यालयको दाँजोमा बढी क्षती पुगेको कार्यालयमा प्राप्त तथ्यांकले बताउछ ।
त्यस्तै बैठकले नगरक्षेत्रमा रहेको नदी तथा खोलाबाट अवैद्य उत्खनन भइरहेको गुनासो आएकाले अनुगमन तथा आवस्यक कारबाहीका लागि वडा, नगर तथा जिल्ला स्तरीय अनुगमन समितिका साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखालाई अनुरोध गर्ने निर्णय समेत गरेको जनाएको छ ।