• सोमबार, साउन ११ २०८३

बाढीका कारण बाजुरामा गाउँ नै सम्पर्कविहीन, पुल बगाउदा उद्दार टाेली पुग्न सकेन


बुधबार, साउन २८ २०७७
895
Shares

बाजुरा । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ ।

झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ । हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए ।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने बताए । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार