काठमाडौं । गोंगबुमा भएको घटनामा दुई दिन पछि मृतकको पहिचान खुलेको छ । यस घटनामा संलग्न रहेको आरोपमा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।
प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।
आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।
सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको खुलेको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।