काठमाडौँ । घरायसी ग्राहकका घर घरमा नेपाल विद्युत् प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गरेका हुन्।
मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको सिंगल फेज र थ्री फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने र जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनइए’ कार्यान्वयनतर्फ गएको छ ।
स्मार्ट मिटर प्रयोगमा आएपछि मिटर रिडिङ गर्नु नपर्ने हुनाले विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ।
कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनुको साथै स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ।
कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकीकरण गर्दै चुस्त बनाउनु रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडान सुरुवात एउटा कोशेढुंगा भएको बताए।मन्त्री पुनले मुलुक छिट्टै ऊर्जामा आत्मनिर्भर हुने पनि बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरिएको पाँच वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए। उनले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रुपमा अगाडि बढाइने जानकारी दिए। स्मार्ट मिटरमा हरेक घन्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक अफ र पिक नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिनेछ।
प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार दुई सय २२ टाइम अफ डे मिटरलाई स्मार्ट बनाइसकेको छ। दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ।
यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब एक अर्ब रुपैयाँ रहेको छ। यसमा एसियाली विकास बैंकले सहुलित ब्याजको ऋण दिएको छ। प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।