जनकपुरधाम । नेपालमा कोरोनाको जस्तै लक्षण देखिएका थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता रहेको बताए ।
धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब संकलन गर्ने काम भइरहेको छ ।
यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
धनुषामा यसअघि एक जनाको कोरोना संक्रमित भएर मृत्यु भइसकेको छ ।