गोरखा । जिल्लाका ११ वटै स्थानीय तहको लगानीमा निर्माण गरिएको गोरखा क्याम्पसको आइसोलेसन सञ्चालनको जिम्मा जिल्ला अस्पताललाई दिने तयारी भएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि निर्माण भएको जिल्ला कमाण्ड पोष्ट र काेभिड १९ क्राइसिस म्यानेजमेण्ट सेन्टर अपरेशनको संयुक्त बैठकबाट गोरखा क्याम्पसको आइसोलेसन सञ्चालनको जिम्मा जिल्ला अस्पताललाई दिन जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा भएको बैठकले आइसोलेसन सञ्चालन तथा ब्यवस्थापनका लागि गोरखा अस्प्तालका ब्यवस्थापन समितिका सदस्य गोवद्र्धन श्रेष्ठको संयोजकत्वमा कार्य समिती समेत गठन गर्न भोली शुक्रबार बस्ने विपद समितिको बैठकमा प्रस्ताव लैजाने तयारी गरेको छ ।
समितिमा जिल्ला प्रशासन कार्यालयले तोकेको एक जना कर्मचारी, गोरखा नगरपालिकाको एक कर्मचारी, स्वास्थ्य कार्यालयको एक कर्मचारी सहित जिल्ला अस्प्तालका मेसु सदस्य सचिव रहने बताइएको छ ।
गोरखा क्याम्पसमा स्थानीय तहले संयुक्त लगानी गरेर ७६ बेडकाे आइसाेलेसन निर्माण यसअघि नै गरिसकेका छन ।
