गोरखा । गोरखा नगरपालिका ७ नयाँ बजारमा रहेको अर्याल मेडिकल हलले आफ्नो ३० औ स्थापना दिवश मनाएको छ ।
सोही अवसरमा मेडिकलले सदरमुकाममा रहेको गोरक्षनाथ बैदिक गुरुकुल प्राविमा अध्ययनरत विद्यार्थीहरुका लागि खाधान्न सामाग्री सहयोग गरेको छ ।
चामल, दाल, चना, केराउ, विस्कुट, नुन, आलु लगायतका खाधान्न साथै फलफुल मेडिकलका सञ्चालक विनोद अर्याालले गुरुकुलका सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गरेका हुन ।
स्थापना दिवशकै अवसरमा मेडिकलले बुधबार निशुल्क सुगर परिक्षण समेत गरेको बताएको छ । सोही अवसरमा १ सय ६० जनाले नयाँबजार स्थित मेडिकलमा पुगेर सुगर परिक्षण गराएको सञ्चालक अर्यालले बताए । त्यस्तै दिवशकै अवसरमा ४० जनाले बिभिन्न स्वास्थ्य जाँचका साथै अन्य सेवामा २० प्रतिशत छुट लिएका छन् ।

यसैगरी स्थापना दिवशकै अवसरमा मेडिकलले बुधबार नै शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ । मेडिकलका संस्थापक सञ्चालक शिव बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख पन्त सहित औषधी ब्यवसायी संघ गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमकै अवसरमा मेडिकलमा १० बर्षभन्दा बढी कर्मचारीका रुपमा सेवा गर्ने गणेश विक्रम अधिकारी र विनोद मग्रातीलाई कदरपत्र सहित सम्मान गरिएको सञ्चालक अर्याालले बताए । सो मेडिकल २०४८ साल साउन २१ गते बक्राङमा स्थापना भएको थियो ।
