कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखापरेका सप्तरीमा तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।
जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती व्यक्तिलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकी धरानतर्फ पठाइएपछि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डां. रञ्जित झाले जानकारी दिए ।यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
मृत्यु भएका रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको हो
उनले ती पुरुषसहित मृत्यु भएका तीनै जनाको स्वाब संकलनका लागि टोली खटिइसकेको जानकारी दिए ।