काठमाण्डाै । लेबनानको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र ४ हजार भन्दा बढी घाइते भएको लेवनानका स्वास्थ्यमन्त्रीले जनाएका छन्।
अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।
अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ।
राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन्।
विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ।
अस्पतालहरू घाइतेहरुले भरिएको बताइएको छ भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।
प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई कारबाहिको दायरामा ल्याइने बताएका छन् ।
बिष्फोटको आवाज २४० किलोमिटर परसम्म साइप्रस सम्म सुनिएको बताइएको छ ।
यस क्षेत्रका सबै भवन ध्वस्त भएका छन् । स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।
सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।
राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो। फैसला शुक्रवार हुँदै थियो।
ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।
घटनाका सम्बन्धमा लेबननका प्रधानमन्त्रीले अन्तराष्ट्रिय सहयोगको आह्वान गरेका छन् ।
स्रोतः बीबीसी