काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाे भन्दै फेरी लकडाउन गर्न सुझाव दिएका छन् ।
वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन् ।
ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बोलाइएको बैठकमा प्रतिपक्षी दलका तर्फबाट शेरबहादुर देउवा र महन्त ठाकुर सहभागि थिए ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए । देउवाले प्रत्येक प्रदेशमा एक लाखका दरले तत्काल परिक्षण गर्न आग्रह गरेका थिए । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि देउवाले सरकारलाई सुझाव दिएका छन् ।
बाह्य मुलुकमा अप्ठ्यारोमा परेका नेपालीको उद्वार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पठाउन, नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र नाका सिल गर्न पनि देउवाको सुझाव दिएका छन् ।
त्यस्तै महन्त ठाकुरले सरकारले यस अघि लामो समय लकडाउन गरेपनि प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले लकडाउन गरेर मात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए ।
छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन्।
देउबा र ठाकुर छलफल बाहिरिसकेका छन् भने प्रधानमन्त्रीको बिज्ञसंगको छलफल चलिरहेको छ ।