गोरखा । व्यवसायी शित्तलकाजी मास्केले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । जिल्लामा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएका मास्केले आफ्नो आम्दानीको खुद नाफाबाट ५ प्रतिशत आश्रमलाई सहयोग गर्ने यस अघि नै घोषणा गरेका थिए ।
सोही अनुरुप आर्थिक वर्ष २०७५/०७६ मा भएको कमाईको ५ प्रतिशत रकम १ लाख ८९ हजार ५८० रुपैयाँ आश्रमलाई उपलब्ध गराएका हुन् । ‘मानव सेवा आश्रमले दिनदुखीहरुको पवित्र सेवा गरिरहेको छ,’ उनले भने, ‘यो पवित्र कार्यमा थोरै भएपनि सहयोग गरौं भनेर यो रकम उपलब्ध गराएको हुँ । यसले उहाँहरुलाई आश्रम सञ्चालन गर्न मद्दत मिल्छ भन्ने मेरो विश्वास छ ।’
गोरखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी मास्केले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार एक कार्यक्रमका वीच आश्रमकी मुना लामालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । गोरखामा मास्केको २ वटा पम्प छन् ।
उनले कलश आयल स्टोर्सबाट एक लाख १६ हजार ६ सय ७० र मनास्लु ट्रेड एण्ड इन्टरप्राइरेज बाट ७२ हजार नौ सय १० गरी १ लाख ८९ हजार ५८० रुपैयाँ आश्रमलाई उपलब्ध गराएका हुन् । गत आर्थिक वर्ष २०७६/०७७ नाफाबाट प्राप्त हुने रकम आगामी वर्ष उपलब्ध गराउने उनको योजना छ । सहयोग रकमलाई निरन्तरता दिने मास्केले प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनी आश्रमको अभिभावक परिवारका संयोजक पनि हुन् । २०७३ साल चैत ५ गते गोरखामा स्थापना भएको आश्रममा अहिले ४४ जना सयोगापेक्षी मानिसहरुले आश्रय लिइरहेका छन् । ती मध्ये ३८ बालबालिका र ५ जना वृद्धाहरु रहेका छन् । आश्रमले विभिन्न सहयोगीदाताहरु मार्फत उनीहरुको पालनपोषण र शिक्षादिक्षाको प्रबन्ध समेत गर्दै आएको गोरखाका शाखाकी मुना लामाले जानकारी दिइन् ।