गोरखा । केहिदिन अघि मात्रै गोरखा आएका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सुशासन प्रवद्र्धनमा आफु प्रतिवद्ध रहेको बताएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुसंगको अन्तरकृया कार्यक्रममा जिल्लाभरको सुशासन कायम गराउने सवालमा आफु प्रतिवद्ध रहेको बताएका हुन ।
त्यससंगै उनले आफ्ना प्रमुख ४ प्राथमिकता समेत सार्वजानिक गरेका छन् । जसमा शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको उनले बताए । ‘सबै क्षेत्रमा सुशसान प्रवद्र्धन गर्ने कोसिस मेरो रहन्छ’ प्रजिअ भट्टराईले भने ‘गोरखामा रहदा मुख्य ४ बिषयलाई प्राथमितकता दिएर म अघि बढ्छु जसमा शान्ति सुरक्षा कायम गराउनु मेरो पहिलो जिम्मेवारी रहन्छ ।’
गोरखा चिनसंगको सिमानामा रहेकाले सिमा सुरक्षासंगै चोरी डकैती, नदीजन्य पदार्थको अवैद्य उत्खनन, आप्रवासी लगायतका समस्या रोक्न बिभिन्न अभियान थाल्ने भट्टराईको दावी छ । त्यस्तै केन्द्र, प्रदेशसंगै स्थानीय तह लगायतसंग समन्वयकारी भुमिका खेल्दै जिल्लाको विकास निर्माणमा सहजीकरण गर्ने आफ्नो अर्को प्राथमिकता रहेको उनको भनाई छ । समन्वय र सहजीकरणको अभावमा समेत विकास अवरोध भएको भन्दै उनले सबै पक्षसंग समन्वय गरी अघि बढ्ने बताएका हुन ।

यसैगरी भ्रष्ट्राचार न्युनिकरण गर्दै जिल्लामा जवाफदेहिता कायम गर्नेे अर्को दायित्व रहेको उनले योजना सुनाए । सरकारी तथा गैरसरकारी संघसंसस्था लगायत विकास निर्माणका काममा भ्रष्ट्राचार र ढिलासुस्ती रोक्न आफु प्रतिवद्ध रहेको बताउदै उनले पारदर्शिता कायम गराउने बिषयमा कटिवद्ध रहेको बताएका छन् ।
यसैगरी चौथो प्राथमिकतामा कानूनको कार्यान्वयनलाई प्रभावकारी बनाउने बताए । हरेक बिषयमा कानून जोडिने भएकाले प्रभावकारी कार्यान्वयनमा आफ्नो भुमिका सकरात्मक रहने बताएका छन् । त्यस्तै जिल्लाका हरेक बिषयबस्तु अघि बढाउदा नागरिक समाजसंगको सहकार्यलाई मजबुत बनाउने योजनामा आफु रहेको उनको भनाई छ ।
‘म एक्लै अघि बढ्न चाहान्न, मलाई अघि बढ्न यहाँको नागरिक समाज, जनप्रतिनिधी, मिडिया, कर्मचारी, सबैको साथ र सहकार्यसंगै साभेदारी चाहिन्छ’ प्रजिअ भट्टराईले भने ‘सिडिओको भुमिकामा म कुनै कसर बाँकी राख्दिन, यसमा सबैको सहयोग आवस्यक छ ।’
यता नेपाल पत्रकार महासंघ गोरखामा अध्यक्ष किशोरजंग थापाले सकरात्मक र कानूनसम्वत रुपमा भएका प्रकृयामा सञ्चारकर्मीको साथ, सहयोग रहने तर कानूनविपरित भएका हरेक बिषयमा भने सदैव खबरदारी रहने बताएका छन् ।
पाँचदिन अघि तत्तकालिन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको सरुवा भएसंगै उनि जिल्ला आएका थिए । त्यसयता बिभिन्न क्षेत्रका अगुवाहरुसंग उनले छलफल अघि बढाएको जिल्ला प्रशासन कार्यालयको भनाई छ ।
आइतबार पत्रकारसंगै जिल्लामा कृयाशिल राजनीतिक दल, गैरसरकारी संघसंस्था लगायतसंग समेत छुट्टाछुट्टै भेटघाट एवं छलफल भएको कार्यालयले बताएको छ ।