पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका ट्राफिक प्रहरीलाई पाँच वटा बुलेट बाइक हस्तान्तरण गरेकाे छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी घनश्याम अर्याललाई रोयल इनफिल्ड बाइककाे चाबी हस्तान्तरण गरेका हुन ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव काशीराम गैरेले प्रति मोटरसाइकल ५ लाखका दरले ५ वटा रोयल इनफिल्ड बाइक खरिद गरेको बताए।
उनका अनुसार गत आर्थिक वर्षको बजेटमै प्रहरीलाई सवारी साधन खरिद गर्ने कार्यक्रम राखिएको थियो। सोही कार्यक्रमअनुसार गण्डकीका ११ वटा जिल्ला प्रहरी कार्यालयले माग गरेअनुसार मोटरसाइकल खरिद गर्न बजेट पठाइएको थियो।
जसअनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, बाग्लुङ, स्याङ्जा र तनहुँले १/१ थान खरिद गरेक थिए। यस्तै, १५० सिसीको पल्सर मोटरसाइकल १८ थान र टिभिएस अपाची ५ थान पनि प्रहरीले खरिद गरेको छ। योसहित प्रदेशभरका प्रहरी कार्यालयले गतवर्ष प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट २८ थान मोटरसाइकल खरिद गरेका थिए।
मोटरसाइकल खरिद गर्न जिल्लास्थित प्रहरी कार्यालयलाई नै बजेट पठाए पनि गाडी भने प्रदेश सरकार आफूले खरिद गरेर हस्तान्तरण गरेको आन्तरिक मामिला सचिव गैरेले बताए। उनका अनुसार ४ वटा टाटा पिकअप भ्यान खरिद गरिएको थियो।
प्रदेशले प्रहरीलाई मोटरसाइकल किन्न ८४ लाख १२ हजार ४५७ रुपैयाँ र ४ वटा गाडी किन्न १ करोड ५१ लाख १५ हजार २ सय रुपैयाँ गरी कुल २ करोड ३५ लाख २७ हजार ६ सय ५७ रुपैयाँ खर्च गरेको सचिव गैरेले बताए। गाडी किन्न प्रदेशले नै टेण्डर आह्वान गरेकाले जिल्लालाई नदिएको उनको भनाइ छ।
बुलेट मोटरसाइकलबोहक अन्य मोटरसाइकल कास्कीले ४ थान, स्याङ्जा, गोरखा, लमजुङ, नवलपुर, बाग्लुङ र पर्वतलाई २-२ थान लिएका छन् भने मनाङ र मुस्ताङले १-१ थान मोटरसाइकल किनेका छन्।
यस्तै, प्रदेशले किनेको ४ वटा गाडी कास्की, तनहुँ, लमजुङ र पर्वत प्रहरीलाई १-१ वटा प्रदान गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अरुणकुमार भण्डारीले बताए।