• आइतबार, साउन १० २०८३

कोरोना त्रासका वीच मुस्लिम समुदायले मनाए इद


आइतबार, साउन १८ २०७७
1.2K
Shares

गोरखा । मुस्लिम समुदायले दोश्रो ठूलो पर्व इद मनाएका छन् । कोरोना संक्रमणको त्रासले यस वर्षको इद भने उल्लासमय बन्न सकेन । मस्जिदमा पुगेर सामुहिक नमाज पढ्ने, एक अर्कासँग अंकमाल गरेर शुभकमना आदानप्रदान गर्ने, आफन्तहरु कहाँ जाने, खुसियाली मनाउने जस्ता केही कुरा भएनन् ।

‘कोरोनाले गर्दा यो वर्षको इद त इद जस्तै भएन,’ सिरानचोक ३ हर्मीका जमालुदिन मियाँले भने, ‘घर परिवार जम्मा हुन पनि पाइएन । जो जहाँ छ त्यहीँ बसेर जसो तसो मनाइयो ।’ सरकारले लकडाउन खोले पनि धेरै भिडभाड हुने धार्मिक, सामाजिक र राजनितिक कार्यक्रम नगर्न आग्रह गरेको छ ।

सोही अनुरुप मस्जिदहरुमा मुख्य केही व्यक्तिहरुले मात्र प्रार्थना गरे । ‘यसपाली त इद खल्लो भयो,’ हाफिज साहेव मियाँले भने, ‘सामुहिक नमाज पढ्न पनि पाइएन, हामी केही व्यक्तिहरु मात्र मस्जिद गएर प्रार्थना ग¥यौं, अरुले घरघरमै गर्नुभयो ।’

नेपाल सरकारको आग्रह र धर्मगुरुहरुको सल्लाहका आधारमा उक्त कार्य गरिएको उनले बताए ।

इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदमा बिशेष गरेर पशु चौपायालाई कुर्वानी अर्थात् बलि दिएर मनाउने गरिन्छ । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेश अनुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको दुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२ औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ ।

आज बकर इदको नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट लगायत चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार