गोरखा । राष्ट्रिय बिभूति अमरसिंह थापाको २ सय ४ औं स्मृति दिवशमा आज सिरानचोक गाउँपालिकाले सार्वजानिक विदा दिने भएको छ ।
सिरानचोक गाउँपालिकामा जन्मेका थापाको स्मृति दिवशमा गाउँपालिकाले पहिलो पटक सार्वजानिक विदा दिन लागेको अध्यक्ष राजु गुरुङले बताए ।
‘अमरसिंह थापा हाम्रो सम्पत्ति हो, उहाँले देशको लागि दिएको योगदानको कदरमा गाउँपालिकाले उहाँको स्मृति दिवशमा सार्वजानिक विदाको घोषणा गरेका छौ’ अध्यक्ष गुरुङले सिभिलखबरसंग भने ‘हामीले यो बर्षको नीति तथा कार्यक्रममा पनि यो बिषय उल्लेख गरिसकेका छौ ।’
सिरानचोकको गाँखुमा उनको स्मृतिमा ४ रोपनी जग्गामा अमरसिंह पार्कको निर्माण सुरु भएको अध्यक्ष गुरुङले बताए । दिवशका अवसरमा आज शुक्रबार गाउँपालिकाले स्मृति कार्यक्रम समेत गर्ने बताएको छ ।
‘गाँखुमा अमरसिंहको पार्क निर्माण गर्ने भनेर स्थानीयले ४ रोपनी जग्गा दिएका छन्, त्यसलाई हामीले सम्याएर मैदान बनाइसकेका छौ, अब पार्क निर्माणको थापनी हुन्छ’ उनले भने ‘आज त्यै मैदानमा झण्डोत्तोलनको कार्यक्रम आयोजना गरेका छौ ।’
अमरसिंह थापा सिरानचाेकमा जन्मेकाे इतिहासमा उल्लेख भएपनि कुन वडामा जन्मेका हुन् भन्ने बिषय भने अनुसन्धानमै रहेकाे अध्यक्ष गुरुङ्गले बताए । साे बिषय खाेजी र अध्ययनका लागि गाउँपालिकाले एक विज्ञ टाेली गठन गरी अनुसन्धान भइरहेकाे उनकाे भनाई छ ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका सेनाका सेनापतिको रुपमा रहेर अमरसिँह थापाले सिरानचोक, लम्जुङ हुदै पाल्पालगायतका बाइसीचौबिसी राज्य एकीकरण गरेको इतिहासमा उल्लेख छ ।
लम्जुङका सैन्य कमाण्डर भक्ति थापालाई समेत गोरखाली सेनामा समेटेर उनले नेपाली एकीकरण अभियान सफल पारेका इतिहासमा उल्लेख छ ।
अमरसिँह थापा स्मृति दिवसमा गोरखाको सिरानचोक गाउँपालिकासंगै डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले समेत सार्बजनिक विदाको घोषणा गरेका छन् ।