गोरखा । मनकामना केबलकार प्रा.लि.ले लकडाउन अवधीमा समेत कर्मचारीलाई सतप्रतिशत सुविधा दिने भएको छ ।
नेपालमा समेत कोरोना भाइरसको संक्रमण देखिन थालेपछि लकडाउन हुनु अगावै बन्द भएको केवलकारले असार मसान्तसम्म सम्पूर्ण कर्मचारीको तलब भत्ता दिन लागेको प्रा.लि.का नायव महाप्रवन्धक डिएन कायस्थले बताए ।
‘हामीले अहिलेसम्म सबै कर्मचारीले खाइपाई आएको सुविधामा कुनै कटौती गरेका छैनौ’ महाप्रवन्धक कायस्थले सिभिलखबरलाई भने ‘लकडाउनमा कम्पनी मात्रै होइन कर्मचारी पनि अफ्टेरोमा परेका छन्, त्यसलाई ध्यान दिएर यो निर्णय लिएका हौ ।’
चैत ८ गतेदेखि नै पूर्ण रुपमा बन्द भएको केलबकारमा हाल १ सय २४ जना कर्मचारी कार्यत छन् । लकडाउन अवधीमा केवलकार रेखदेख गर्ने करिब ५ जना बाहेक अन्य सबै कर्मचारी बिदामा रहेको उनले बताए ।
‘हामीले त लकडाउन नहुदै केबलकार बन्द गराएर सबै कर्मचारीलाई घर पठाएका थियौ, आजसम्म पनि उहाँहरु घरमै हुनुहुन्छ’ कायस्थले भने ‘अवस्था सामान्य भएर सरकारले निर्णय नगरुञ्जेल हामी उहाँहरुलाई बोलाउदैनौ ।’