काठमाण्डाै । बितेकाे तीन महिनाको अवधिमा देशभर कुरीतिका कारण १ सय ७१ जना प्रभावित भएको पाइएको छ । २०७६ चैत १९ गते देखि २०७७ जेठ १९ सम्म सोच नेपालले गरेको मिडिया सर्भेक्षणमा सो संख्याका नागरिक बिभिन्न प्रकारका कुरीतिबाट प्रभावित भएको पाइएको हो ।
बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर सोच नेपालले सो अभिलेख तथा तथ्यांक सार्वजानिक गरेको हो ।
जसमा यो अबधिमा छुवाछूत १७, बालविवाह १३६, लैङ्गिक विभेद प्रथाका १४, बहु विवाहका २, कुमारी प्रथाका १, झाक्री प्रथा १ गरि कुल १७१ जना मानिस कुरतिका कारण मानसिक र शारिरिक रुपमा प्रभावित भएको विभिन्न पत्रपत्रिका तथा आलाइन खवरहरुमा प्रकाशित भएको पाइएको छ ।
त्यस्तै यसै त्रैमासिकमा दुई प्रकारका कुरीतिका कारणले ७ जनाको ज्यान गएको पाइएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र दलित रहेका छन् । कुरीति कै कारण अधिकांश महिला तथा दलित समुदाय शारिरिक तथा मानसिक हिंसाको शिकार भएका छन् ।
प्रदेश ५ सबैभन्दा बढी प्रभावित
तीन महिनामा कुरीतिका कारण २ सिंगै समुदाय प्रभावित भएका छन् । यस त्रैमासिकमा प्रदेश ५ का जनता कूरीतिबाट बढी प्रभावित भएको पाइएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश पनि उतिकै कुरीतिबाट प्रभावित भएको पाइएको छ । यसपटक सबैभन्दा कम कुरीतिको घटनाहरु प्रदेश ५ र ७ मा भएको पाइन्छ ।
यसै त्रैमासिकमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगाएत अन्य ५ जना साथीको स्थानीय कथित माथिल्लो जातका गाउँलेबाट कुट्पिट र लखेट्दै हत्या भएको थियो ।
साउन दोस्रो साता त्रैमासिक तथ्यांक सार्वजानिक गर्दै सोच नेपालले कथित माथिल्लो जातको सिङ्गो समुदाय नै लागेर हत्या गरिएको उक्त घटनाले नेपाली समाजले आम दलित समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोणलाई छर्लङ्ग पारेको बताएको छ ।
त्यस्तै देश जातीय भेदभाव तथा छुवाछूत मुक्त घोषणा भएको १० वर्ष पछि पनि यस किसिमका घटना बारम्बार दोहोरिनुले सिङ्गो मानव समुदायलाई लज्जित बनाएको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । त्यस्तै सोच नेपाल कानुनी प्रक्रिया छिटो भन्दा छिटो अगाडी बढाएर दोषीलाई कानुनी रुपमा हदैसम्म कारबाही गर्न जोडदार माग समेत गरेको छ ।
यस्ता विभिन्न कुरीतिमा अहिलेपनि राज्यबाट नै पीडितलाई संरक्षण गर्ने, पीडकले नै पीडित माथि धम्की, डर, प्रलोभन त्रास, कुटपिट गरेर घटनालाई अन्त गर्ने परिपाटीले पीडित न्यायबाट बञ्चित भइरहेको भन्दै नागरिक समाज यस्ता बिषयमा निरन्तर खबरदारीमा लाग्नु पर्ने आवश्यकता अझ टड्कारो भएको संस्थाको भनाई छ ।
संस्थाले विज्ञप्तीमा भनेको छ ‘अहिलेको वैज्ञानिक युगमा पनि परम्परा, धर्म तथा संस्कृतिका नाममा मान्छे माथि हुने अमानवीय तथा अपमानजनक घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सरोकारवालालाई झक्झकाउन तथा हरेक मान्छेले सम्मानपुर्वक बाच्न पाउँने अधिकारको रक्षाको लागि सोच नेपाल सरकारलाई अनुरोध गर्दछ ।’