• सोमबार, साउन ११ २०८३

न्यायिक समितीमा जग्गा विवादका उजुरी धेरै


बुधबार, साउन १४ २०७७
1.7K
Shares

अब्जल मियाँ

गोरखा । गोरखा नगरपालिकामा रहेको न्यायिक समितीमा सबैभन्दा बढि जग्गा विवादका उजुरी पर्ने गरेका छन् ।

नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठको संयोजकत्वमा रहेको समितीमा गत आर्थिक बर्ष २०७६/७७ मा परेका मध्ये १४ वटा उजुरी घर/जग्गा भोगचलन विवाद सम्बन्धीका रहेको पाइएको छ ।

एक बर्षमा नगरक्षेत्रबाट बिभिन्न विवाद सम्बन्धी २९ वटा उजुरी आउदा पचास प्रतिशतभन्दा बढी उजुरी घरजग्गा र साँध मिचिएका उजुरी दर्ता भएको उपप्रमुख श्रेष्ठले बताइन ।

‘न्यायिक समितिमा प्राय आउने विवाद भनेकै जग्गा सम्बन्धी हो’ उनले भनिन ‘यो बर्ष २९ वटा उजुरी दर्ता भएकोमा आधाभन्दा बढी त त्यस्तै विवादका मात्रै छन् ।’

जसमध्ये ३ वटा विवाद मिलापत्र भएका छन् भने एउटा निरुपण गरिएको छ । त्यस्तै ५ वटा उजुरीमा दुवै पक्षबिच छलफल गराई सहमती कायम गरिएको बताइएको छ । त्यस्तै बाँकी रहेको ५ वटा भने प्रकृयामा रहेको उपप्रमुख श्रेष्ठले बताइन ।

त्यस्तै दोस्रोमा धेरै आउने उजुरी घरभाडा तथा रकम असुलउपर सम्बन्धी रहेको उनको भनाई छ । जुन एक बर्षमा ८ वटा निवेदन दर्ता भएका थिए । जसमा ३ वटा फस्र्यौट तथा मिलापत्र गराएर पठाइएको छ भने ४ वटा सहमती कायम गरिएको समितिको तथ्यांकमा उल्लेख छ । बाँकी रहेको एउटा भने प्रकृयामा छ ।

त्यस्तै गत आर्थिक बर्षमा कुलो नाली निकास सम्बन्धी विवादमा २ वटा उजुरी परेका थिए । जसमा २ वटै मिलापत्र र सहमती गराएर पठाइएको छ । यसैगरी घरेलु हिंशा तथा खान लाउन नदिएको सम्बन्धी पनि दुई उजुरी परेका थिए ।

दुवै उजुरीमा सम्बन्धीत पक्षलाई राखेर सहमती गराइएको थियो । बर्ष भरीमा ज्याला मजदुरी सम्बन्धी विवादका भने एउटा मात्रै उजुरी परेको र सोमा समेत निरुपण गरिएको न्यायिक समितिका संयोजक समेत रहेकी उपप्रमुख श्रेष्ठले बताइन ।

त्यस्तै तलव भराई पाउँ लगायत संस्थागत उजुरी २ वटा परेकोमा दुवै प्रकृयामा रहेको उनको भनाई छ ।

आर्थिक बर्ष २०७५/७६ मा प्रकृयामा रहेका १२ वटा बिभिन्न विवादका उजुरी मध्ये ८ वटा २०७६÷७७ मा टुंगो लगाइएको छ । जसमा २ वटा उजुरीमा मिलापत्र, एक निरुपण र ५ वटा थप प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको र बाँकी रहेको ४ वटा भने अझै प्रकृयामा रहेको बताइएको छ ।

गोरखा नगरपालिकाले यसै बर्षदेखि न्यायिक समितिमा पर्ने उजुरीको छलफलका लागि कार्यालयमा इजलास समेत तयार गरी कार्य ब्यवस्थित बनाएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार