मोहसिन अलि मियाँ
गोरखा । गोरखा अस्पतालको आइसोलेसनमा राखिएका कोरोना संक्रमितको उपचारमा खटिएका कर्मचारीले ३५ लाख भत्ता बुझेका छन् । कोरोना संक्रमितको उपचार र ब्यवस्थापनमा प्रत्यक्ष र अप्रत्यक्ष गरी संलग्न भएका ८६ जनाले गण्डकी प्रदेश सरकार मार्फत सो बराबरको भत्ता रकम बुझेका हुन ।
गत जेठ र असार गरी दुई महिनामा जिल्ला अस्पतालमा राखिएका संक्रमितको उपचारमा खटिएकाहरुलाई कोरोना जोखिम भत्ता वापत सो रकम वितरण गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. नविन थापाले बताए ।
‘पोजेटिभ केसको उपचारमा खटिएका कर्मचारीलाई उसको योगदान र कामको आधारमा भत्ता दिएका हौ’ निमित्त मेसु डा थापाले भने ‘जसमा प्रत्यक्ष खटिएका २५ र अप्रत्यक्ष खटिएका ६१ जना हुनुहुन्छ ।’
जोखिम भत्ता आदेश २०७७ अनुसार संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकालाई सरकारले तोकेको तलबको शतप्रतिशत भत्ता दिने उल्लेख छ । बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने डाक्टर, नर्स, नमुना संकलन गर्ने जनशक्ति, कार्यालय सहयोगी पर्छन् । संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा अप्रत्यक्ष संलग्न अर्थात् ल्याबका कर्मचारीले ७५ प्रतिशत भत्ता पाउने आदेशमा उल्लेख छ ।
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खटिएका जनशक्तिबाहेक संक्रमित र नमुना ओसारपसारमा संलग्नले ५० प्रतिशत भत्ता पाउने सरकारी नीतिले बोल्छ । सोही अनुसार संक्रमितको उपचार, ब्यवस्थापन लगायतमा खटिएका अस्पतालका कर्मचारीहरुले भुक्तानी जोखिम भत्ता रकम दावी गरेका थिए ।

दावी भएअनुसार रकम भुक्तानी गर्दा प्रत्यक्ष खटिएकाहरुले करिब ३० लाख र अप्रत्यक्ष खटिएकाहरुले करिब ५ लाख रकम बुझेको डा थापाको भनाई छ । कोरोनाको उपचार इस्क्रिनिङ, फिवर क्लिनिक, प्रि आइसोलेसन र आइसोलेसन लगायत अन्य ब्यवस्थापकिय काममा खटिएकालाई मात्रै जोखिम भत्ता दिने प्रावधान रहेको समेत उनले बताए ।
गोरखा अस्पतालमा हालसम्म ३८ जना संक्रमितलाई आइसोलेसनमा राखिएको छ । जसमध्ये ३४ जना निको भएर घर फर्किएका छन भने ३ जना उपचाररत छन् । त्यस्तै आइसोलेसनमै राखिएकामध्ये १ जनाको भने निधन भएको थियो । गोरखामा जेठ २५ गते पहिलो पटक १० जना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याएको थियो ।
यसरी हेर्दा करिब १ महिनाको अवधीमा कोरोना जोखिम भत्ता ३५ लाख खर्च भएको छ । तर यो खर्च जिल्ला अस्पतालको मात्रै हो । गोरखा क्याम्पस, मकैसिं र आरुघाटमा बनाइएको आइसोलेसनमा स्थानीय तहले खटाएको कर्मचारीलाई भने प्रदेश सरकारले जोखिम भत्ता दिएको छैन ।
जोखिम भत्ता दावीका लागि प्रदेश सरकारले असार ३० गते मात्रै गोरखा अस्पताललाई ४० लाख रकम पठाएको थियो । सोही अनुसार ३१ गते अस्पतालले संक्रमितको उपचारमा खटिएकाहरुको हाजिरी हेरेर भत्ता रकम भुक्तानी गर्दा ३५ लाख खर्च भएको अस्पतालले जनाएको छ । यसरी हेर्दा प्रत्यक्ष उपचार र ब्यवस्थापनमा खटिएका कर्मचारीहरुले तलब बाहेक भत्ता मात्रै एक लाखको हाराहारीमा बुझेको देखिन्छ ।
यता भत्ता रकमकै बिषयमा अस्पतालमा खटिएका अन्य कर्मचारीको भने चरम असन्तुष्टी रहेको पाइएको छ । टिकट काउण्टर, फार्मेसी, कम्प्युटर अपरेटर लगायत असंलग्न करिब ५० जना कर्मचारीले कोरोना जोखिम भत्ता नपाएको भन्दै बिरोधमा उत्रिएको अस्पतालकै एक कर्मचारीले बताए ।
‘अरु जिल्लाका अस्पतालले सबै कर्मचारीलाई भत्ता दिएको छ हामीले चाहि किन नपाउने भनेर बिरोध गर्नुभएको छ’ एक कर्मचारीले सिभिलखबरसंग भने ।
तर अस्पताल प्रशासन भने नीतिमा भएको आदेश अनुसार योगदान र काम हेरेर सबैलाई भत्ता दिएको बताउछ । कोरोना भाइरसको उपचार र ब्यवस्थापनमा नखटिएकालाई भने भत्ता दिन नसकिने निमित्त मेसु डा थापाको भनाई छ ।