गोरखा । पहिरोले थुनिएको धार्चेको नौनी खोलाको बहाव खुल्न थालेको छ।
गएराति ११ बजे आएको पहिरोले गोरखाको धार्चे गाउँपालिका–७ स्थित नौलीखोला थुनिएको थियो। खोला थुनिएपछि सो क्षेत्रमा ठूलो ताल बनेको थियो।
डाँडा नै भासिएर झरेको पहिरोले रातीदेखि नै खोला थुनेको गाउँपालिका अध्यक्ष सन्ताेष गुरुङ्गले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान ११ बजेदेखि खोला बिस्तारै बग्न थालेको बताए । उनले पहिले सानो निकासमा बग्न थालेको खोला अब बिस्तारै ठूलो हुँदै गएको बताएका छन ।
तर खोला बग्न थाले पनि पहिरो नरोकिएका कारण जोखिम भने यथावत नै रहेको गुरुङ्गकाे भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १२ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको बताए।
घटनास्थलमा माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी गुरुङले जानकारी दिए।
खोला आसपासका क्षेत्रमा करिब ६० घरधुरीको बसोबास छ।