गोरखा । केही दिन यता परेको अबिरल वर्षाका कारण आएको बाढी पहिरोले गोरखाको सयौं रोपनीमा लगाएको धान खेति नष्ट गरेको छ ।
कृषि ज्ञानकेन्द्र गोरखामा प्राप्त मौखिक विवरण अनुसार हालसम्म बाढीले २५ सय रोपनी भन्दा बढि क्षेत्रफलमा लगाइएको धान खेति नष्ट भएको देखिन्छ ।
‘यो मौखिक रुपमा आएको डाटा हो, अहिले सबै पालिकाको कृषि शाखामा कार्यरत प्राविधिक साथीहरु फिल्डमा हुनुहुन्छ,’ कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापाले भनिन्, ‘उहाँहरुले विवरण संकलन गरेर मुचुल्का तयार गर्ने काम गरिरहनु भएको छ । उक्त विवरण आएपछि क्षतिको एकिन हुनेछ ।’
जिल्लाको चेपे÷मस्र्याङ्गदी, दरौंदी, भुसुण्डे, खारखोला, लुदिखोला, बुढीगण्डकी लगायतका नदी किनारामा भर्खरै रोपिएको सयौं रोपनी धान खेति कटान गरेको हो ।
बाढीले जिल्लाका झण्डै एक दर्जन सिंचाइ कुलोहरु पनि बगाएको छ । शहिद लखन, भीमसेन, गण्डकी, सिरानचोक लगायतका स्थानीय तहमा सिंचाई कुलो बगाएको मौखिक विवरण प्राप्त भएको थापाले बताइन् ।
सबै स्थानीय तहबाट प्राप्त क्षतिको विवरणलाई एकिकृत गरी जिल्लाको रिर्पोट तयार गर्ने कृषि ज्ञानकेन्द्रका तयारी छ । कपितय स्थानमा पुन धान रोप्नका लागि कृषकलाई सुझाव दिइएको छ । तर बिउ अभावका कारण पुनः रोप्न समस्या हुने किसानहरुले गुनासो गरेका छन् ।