• आइतबार, साउन १० २०८३

पहिराेले पृथ्वी राजमार्ग आज पनि अवरुद्ध


शुक्रबार, साउन ९ २०७७
1.4K
Shares

पृथ्वी राजमार्ग सडक खण्ड आज पनि पहिरोका कारण अवरुद्ध भएकाे छ ।

पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दीपुरमा पहिरो खसेपछि दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको हाे। राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो।

यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो। पहिरोले राजमार्गको सडक नै बगाएपछि बनाइएको वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फस्ने गरेका छन्।

सडकमा गाडी फस्दा राजमार्ग अवरुद्ध भएको बन्दीपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।

त्यहाँ सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घण्टा लाग्ने अनुमान प्रहरीले गरेको छ। तनहुँमा बिहीबार साँझदेखि अविरलरुपमा वर्षा भइरहेको छ।

तर, अन्यत्र भने राजमार्ग अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। उनले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार