अब्जल मियाँ
गोरखा । गोरखामा बर्षेनी आत्महत्याका घटना भयावह बन्दै गएको छ । गत तिन बर्षको तथ्यांकलाई हेर्दा जिल्लामा आत्महत्या गर्नेको संख्या उस्तै देखिन्छ ।
कमजोर मानसिकताका कारण जिल्लामा यस्ता घटनाको संख्या घट्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए । चुनौतीसंग सामना गर्न असमर्थ ब्यक्तिलाई यस्तो किसिमको बिचार आउन सक्ने उनको भनाई छ ।
‘मान्छे चाहिने भन्दा बढी महत्वाकांक्षी हुनु । आफुले भनेका कुरा पूरा नहुँदाको अवस्थामा आत्मबल कमजोर हुनेहरु र जीवनको महत्व नबुझ्नेहरुले आत्महत्याको गलत बाटो रोज्ने गरेको देखिन्छ’ डिएसपी खतिवडाले भने ‘आत्महत्या एउटा जटिल सामाजिक समस्या बनेकाले यसविरुद्ध जनचेतनामूलक महाअभियान चलाउनुपर्ने देखिन्छ ।’
आर्थिक बर्ष २०७४/७५ मा ४७ जनाले आत्महत्या गरेको गोरखामा २०७५/०७६ मा त्यो संख्या ह्वात्तै बढेर ६८ पुग्यो । अघिल्लो बर्षको दाँजोमा २०७६/०७७ मा आत्महत्याको घटना संख्या केहि घटेपनि अवस्था भने बर्षेनी भयावह बन्दै गइरहेको तथ्याङकले देखाउछ ।
जिल्ला प्रहरी कार्यालय गोरखामा रहेको तथ्यांक अनुसार जिल्लामा २०७६÷०७७ मा ६३ जनाले आत्महत्या गरेको डिएसपी खतिवडाले बताए ।
तिनबर्षमा गोरखामा १७८ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउछ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आर्थिक बर्ष ०७५/०७६ मा कुल ६८ जना मध्ये ५६ जना झुन्डिएर, २ जना हाम्फालेर र १० जनाले बिष प्रयोग गरेर आत्महत्या गरेका थिए ।
जसमा २९ जना महिला र ३९ जना पुरुष रहेका थिए । त्यसैगरी आर्थिक बर्ष ०७६/०७७ मा ६३ जना मध्ये ५९ जना झुन्डिएर, ३ जना हाम्फालेर र १ जनाले बिष सेवन गरेर आत्महत्या गरेको प्रहरीको भनाई छ ।
त्यसो त जिल्लामा आत्महत्या न्यूनिकरणका लागि अभियान नचलेका पनि होइनन् । विद्यालय, कलेज लगायत बिभिन्न समुदायमा प्रहरी र नागरिक समाज स्तरबाट पनि अभियान चलिरहेकै छन् । तर दिनप्रतिदिन संख्या भने बढ्दो देखिन्छ ।
बेरोजगारीकै कारण दिनप्रतिदिन युवाहरु वैदेशिक रोजगारीका लागि पनि पलायन हुने क्रम बढ्दो छ । गरिवी र बेरोजगारीका कारण हत्या हिंशा, लुटपाट र अवैद्य धन्दा पनि उत्तिकै मौलाएको देखिन्छ ।
तर त्यसो मात्रै होइन, पछिल्लो समय बेरोजगारी र गरिवीकै कारण आत्महत्याको संख्या पनि उत्तिकै बढ्दो छ । जिल्लाको गत ३ आर्थिक बर्षको तथ्यांकलाई केलाउने हो अधिकांशले सोही कारणबाट आफ्नो ज्यान फालेको प्रहरी अनुसन्धानले देखाउछ ।
त्यस्तै अशिक्षा, घरेलु हिंशा, मानसिक असन्तुलन, प्रेममा असफलता, उच्च आकांक्षा, सामाजिक सञ्जालको दुरुपयोग, परिक्षा, सामाजिक दवाव, बसाईसराई लगायतका कारणले पनि आत्महत्या गर्ने गरेको पाइएको छ ।
आत्महत्या समस्या समधानको बाटो नभएको जिकिर गर्दै डिएसपी खतिवडा मानिसले जिवनको मुल्य नबुझ्दा र समयअनुकुल आफुलाई परिमार्जन गर्न नसक्दा समस्या पैदा भएको जिकिर गर्छन ।