• आइतबार, साउन १० २०८३

बाढी पहिरोबाट घर गुमाउनेलाई सरकारले ३ लाख दिने


बिहिबार, साउन ८ २०७७
1.2K
Shares

काठमाडौं । सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता कारणबाट घरवारविहीन भएका परिवारलाई घर बनाउन भूकम्प प्रभावितलाई जति नै सुविधा दिने भएको छ ।

मन्त्रिरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरी विपद पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

उक्त मापदण्ड अनुसार मनसुन अवधिको बाढी, पहिरो, डुवान र कटानले घरबारविहीन भएकालाई २०७२ सालको भूकम्प प्रभावितलाई प्रदान गरिएको विधि र प्रक्रियाबाट शहरी विकास मन्त्रालयले आवास निर्माणको व्यवस्था मिलाउनेछ ।

सरकारले २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी घरबास गुमाउनेलाई नयाँ घर बनाउन ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।

उक्त मापदण्डमा विपदको घटनामा परी ज्यान गुमाउनेलाई दिइने राहत रकम पनि किटान गरिएको छ । कुनै परिवारमा १ जनाको मृत्यु भए २ लाख, एक भन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले राहत पाउने उल्लेख गरिएको छ । तर एकाघरका सबै व्यक्तिको मृत्यु भएमा कसैले पनि राहत पाउने छैन ।

विपदबाट घर, बसोबासस्थल, खाद्यान्न, पसल नष्ट भए गुजाराको लागि प्रति परिवार १५ हजार दिइने पनि मापदण्डमा उल्लेख छ । ५ जनासम्मको परिवार भए १५ हजार र ५ भन्दा बढी भए २० हजार रुपैयाँ राहत पाउनेछन् । उक्त रकम सम्भव भएसम्म घटनास्थलमा नै दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार