गोरखा । लगातारको बर्षातका कारण गोरखाको जनजिवन पूर्ण रुपमा प्रभावित बनेको छ । बर्षात र त्यसपछि आएको पहिरोका कारण गोरखा भित्रिने र बाहिरिने मुख्य अमरसिंह राजमार्ग दुईदिनदेखि अवरुद्ध बनेको छ ।
गोरखा–आँबुखैरेनी सडकखण्डको अबुवा, तेह्र किलो, ठिगुरेश्वाँरा, खोलखोले लगायतका स्थानमा पहिरो जादा सडक अवरुद्ध बनेको हो । त्यस्तै मंगलबार सो सडकखण्डको ११ किलोमा बर्षाको पानी जमेर सडक समेत भासिएको छ ।

मुख्य सडक नै ३ मिटर भासिर नाली पुरिएपछि डोजरले सडक काटेर पानी कटाइएको स्थानीयले बताएका छन् । गहिरो खाल्डो बनाइएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको गोरखा नगरपालिका ११ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै गोरखा–आरुघाट सडक, गोरखा–बुंकाट–नामजुङ–मनकामना सडक, बाह्र किलो–भालुस्वाँरा बारपाक सडक, पालुङटार, भच्चेक सडक लगायत जिल्लका ग्रामिण सडकको बिभिन्न स्थनमा पहिरो खस्दा यातायात पूर्ण रुपमा ठप्प बनेका छन् ।

त्यस्तै दरौदी नदीमा आएको बाढीका कारण त्यस आसपास क्षेत्रमा किसानले हजारौ रोपनीमा लगाएको धान, तरकारी लगायतका बालीमा क्षती पुगेको छ ।
त्यस्तै गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, सिरानचोक, शहिद लखन लगायतमा गरी झण्डै डेढ सय घर पहिरोका कारण बिस्तापित बनेका छन् । पहिरोकै कारण सोमबार गण्डकी गाउँपालिकाको फुजेलमा एक महिलाको घटनास्थलमै ज्यान गएको थियो ।

त्यस्तै आरुघाट बजारबाट धादिङको बिशालबजार जोड्ने पक्कि पुल नजिकै पहिरो खस्दा आवतजावत रोकिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । त्यस्तै पहिरोकै कारण बिभिन्न पालिकाका विद्यालय भवन, स्वास्थ्य चौकी भवन उच्च जोखिममा परेको प्रहरीको भनाई छ ।
हाल जोखिममा परेकाहरुको उद्दारमा जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय तह, रेडक्रश लगायतको टोली खटिएको बताइएको छ ।
